प्राज्ञिक परिषद् सदस्यमा सुनिता न्ह्रेमाफूकी
चितवन । सुनिता न्ह्रेमाफूकी कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राज्ञिक परिषद् सदस्यमा नियुक्त भएकी छन्।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ की उपाध्यक्ष समेत रहेकी न्ह्रेमाफूकी कृषि मेशिनरी र कृषि प्रविधि क्षेत्रमा सक्रिय छिन्। उनको नियुक्तिले विश्वविद्यालयको प्राज्ञिक तथा नीतिगत काममा निजी क्षेत्रको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
न्ह्रेमाफूकी यसअघि प्रतिनिधिसभाको समानुपातिक तर्फबाट सांसदको सिफारिस सूचीमा समेत परेकी थिइन्। तर निर्वाचनअघि नै उनले उक्त सूचीबाट आफ्नो नाम त्यागेकी थिइन्।
कृषि क्षेत्रसँग जोडिएर काम गर्दै आएकी न्ह्रेमाफूकीको नियुक्तिलाई कृषि तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूले सकारात्मक रूपमा लिएका छन्। नेपाल कृषि मेशिनरी व्यवसायी संघले पनि उनलाई बधाई दिएको छ ।
प्राज्ञिक परिषद् के हो?
प्राज्ञिक परिषद् विश्वविद्यालयको शैक्षिक गुणस्तर, पाठ्यक्रम विकास र अनुसन्धानलाई मार्गदर्शन गर्ने सर्वोच्च शैक्षिक निकाय हो। विश्वविद्यालयका डिन, विभाग प्रमुख, वरिष्ठ प्राध्यापक तथा सम्बन्धित विज्ञहरू यस परिषद्मा सदस्य हुन्छन्।
प्राज्ञिक परिषद्का मुख्य काम तथा कर्तव्य
- विश्वविद्यालयका पाठ्यक्रम निर्माण, संशोधन र स्वीकृति दिने।
- नयाँ शैक्षिक कार्यक्रम, संकाय वा विभाग स्थापना सम्बन्धी निर्णय गर्ने।
- अनुसन्धान, प्रकाशन र शैक्षिक गतिविधि सम्बन्धी नीति निर्धारण गर्ने।
- परीक्षा प्रणाली, मूल्यांकन र शैक्षिक मापदण्ड तय गर्ने।
- विद्यार्थी भर्ना, छात्रवृत्ति र शैक्षिक योग्यता सम्बन्धी मापदण्ड तय गर्ने।
- विभिन्न संकाय तथा क्याम्पसबाट आएका शैक्षिक प्रस्तावहरू स्वीकृत वा संशोधन गर्ने।
- विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम र सुधार गर्ने नीति बनाउने।
